>>खानेपानी संस्थानका कर्मचारीहरुले घण्टी बजाएर प्रदर्शन गरे
कामठाडौ २५ पुस २०६३ । खानेपानी संस्थानका आन्दोलनरत कर्मचारीले प्रस्तावित खानेपानी विधेयक फिर्ता लिन माग गर्दै आज सांकेतिक विरोध प्रदर्शन गरेका छन् ।
उनीहरुले संस्थानको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा आज मध्यान्हबाट १ घण्टा लगातार घण्टी बजाएर विरोध गरेका थिए । सरकारले संस्थान निजीकरण गरी उपत्यकाको खानेपानी व्यवस्थापनको जिम्मा विदेशी कम्पनीलाई दिन लागेको भन्दै केही दिनयता आन्दोलनमा रहेका कर्मचारीले आफ्नो माग सुनुवाई नभएपछि सांकेतिक विरोध स्वरुप घण्टी बजाएका हुन् । सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन घण्टा बजाउनु परेको उनीहरुको भनाइ छ ।
संसदबाट गत साता पारित खानेपानी विधेयक प्रमाणिकरण हुनु पहिले कर्मचारीको जागिर सुरक्षाको प्रत्याभुति गरिनुपर्ने र खानेपानी व्यवस्थापनको जिम्मा स्वदेशी कर्मचारीलाई नै दिइनुपर्ने कर्मचारीहरुको प्रमुख माग छ ।
ती मागमा कुनै सुनुवाई नभएको भन्दै कर्मचारीले आजै मुखमा कालोपट्टी बाँधेर विरोध जनाएको कर्मचारीहरुको संघर्ष समितिका केन्द्रीय सदस्य गोपाल सिंह धामीले जानकारी दिनुभयो । कर्मचारीहरुले देशभरका शाखा कार्यालयहरुमा वितरण बाहेकका काम ठप्प पारेका छन् भने केन्द्रीय कार्यालयमा केहीदिनयता जारी धर्ना पनि यथावत राखेका छन् ।
No comments:
Post a Comment